नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

शुक्लाफाट वन्यजन्तु आरक्ष

स्थापनाः २०३१ साल (सन् १९७६) म. क्षे. स्थापनाः २०६१ साल (सन् २००४)
क्षेत्रफलः ३०५ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः २४३.५ वर्ग कि.मि.

यो वन्यजन्तु आरक्ष सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस आरक्षको प्रमुख विशेषता हो । आरक्षका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यो आरक्ष बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१३ मा यस आरक्षमा २,१७० वटा बाह्रसिंगा गणना गरिएको छ । यो आरक्ष जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१२ मा गरिएको गणना अनुसार यस आरक्षमा बाघको संख्या १० पुगेको छ । आरक्षको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस आरक्षका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् ।

वन्यजन्तु अवलोकनका लागि यो आरक्ष स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन् । आरक्षभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा समस्या समाधान नहुनु र चरिचरण यस आरक्षको प्रमुख समस्याको रूपमा रही आएको छ ।

 

गुगल नक्शा