नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

२३ औं वन्यजन्तु सप्ताह २०७५ (१ देखि ७ वैशाख २०७५) भव्यताका साथ सम्पन्न

"समृद्धिका लागि वन्यजन्तु संरक्षण” भन्ने मूल नाराकासाथ २३ औं वन्यजन्तु सप्ताह, १ देखि ७ वैशाख २०७५ सम्म वन्यजन्तु र जैविक विविधताको संरक्षणमा व्यापक जनचेतना अभिवृद्धि गर्ने र स्थानीय एवं समग्र राष्ट्रको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रमहरु गरी मनाइयो । वन्यजन्तु सप्ताहको अन्तिम दिन माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राङ्गण बबरमहलमा विशेष कार्यक्रम गरी समापन गरियो । बबरमहल वनपरिसरबाट माइतीघर मण्डला, बिजुलीबजार हुदै बानेश्वर भई पूनः बबरमहल वनपरिसरसम्म हरित र्याली (प्रभात फेरी) गरियो ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री गोपाल प्रकाश भट्टराईले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्दै स्वागत मन्तब्य राख्नु भयो । कार्यक्रमका प्रमुख अतिथि, माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतज्यूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राङ्गणमा राखिएको गैंडाको आकृति अनावरण गर्नुभयो । नेपालमा सालक संरक्षण कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको सालक संरक्षण कार्ययोजना प्रमुख अतिथिबाट लोकार्पण गरियो । वन्यजन्तु संरक्षणको कार्यमा विशिष्ट योगदान पुर्याउनु भएका चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर श्री लक्ष्मण राय र अनुसन्धानकर्ता एवं संरक्षणकर्मी श्री राजु आचार्यलाई संयुक्त रुपमा “राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार २०७४” र पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्री पदम तितुङ्ग र पत्राकार श्री रामचन्द्र अधिकारीलाई संयुक्त रुपमा “वन्यजन्तु संरक्षण पुरस्कार २०७४” बाट पुरस्कृत गरियो ।

एम्बिसन एकेडीमीका विद्यार्थीहरुबाट “समृद्धिका लागि वन्यजन्तु संरक्षण” विषयमा नाटक प्रस्तुत भयो । वन्यजन्तु एवं प्रकृति संरक्षणका लागि जनचेतना जगाउने चेतनामूलक गीत बरिष्ठ जनगायक श्री रामकृष्ण दुवालको नेतृत्वमा कलाकारहरुले गाउनु भयो । वन्यजन्तु सप्ताहको अवसरमा आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय चित्रकला र फोटोग्राफिक प्रतियोगिताका प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरियो ।  

कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री शक्ति बहादुर बस्नेतज्यूले वन्यजन्तुको बासस्थान व्यवस्थापन, संकटापन्न वन्यजन्तुको संरक्षण, चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण,  भू–परिधिस्तरीय संरक्षणमा बढावा एवं संरक्षण सचेतना कार्यक्रममा जोड दिई मानव वन्यजन्तु द्धन्द नहुने स्थितिको सृजना गरी पर्यापर्यटन मार्फत स्थानीय समुदाय र समग्र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने दिशामा सक्रिय योगदान पुर्याउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका विशेष अतिथि सचिव डा. विश्वनाथ ओलीज्यूले वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्ने खालका कार्यक्रमहरु बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।  साथै जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि वन्यजन्तु महत्वपूर्ण रहेको बताउनु भयो । वन्यजन्तुको संरक्षण र व्यवस्थापनमा सरकारी निकाय, स्थानीय तह, स्थानीय समुदाय र गैरसरकारी संघसंस्था सबैको समन्वय र साझेदारी हुनुपर्ने भनी उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले राष्ट्रिय र अन्तरािष्ट्रय नीति अनुरुप वन्यजन्तुको संरक्षण र व्यवस्थापनमा कटिबद्ध रही कार्य गर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगायत कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरु, वन्यजन्तु संरक्षणमा प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कर्मचारीहरु, शिक्षक तथा विद्यार्थीहरु, संरक्षणकर्मीहरु, सञ्चारकर्मीहरु गरी ५०० जनाको उपस्थिति रहेको थियो ।