नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

  • :
  • :

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत छ |

नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण राष्ट्र हो |  नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकिय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०२९ सालमा वन विभाग अन्तरगत शाखाको रुपमा स्थापना भई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षणको कार्य प्रारम्भ भएकोमा यसको कार्य क्षेत्र बढदै गएको कारणले सोही विभाग अन्तरगत यो एक छुट्टै कार्यालयको रुपमा स्थापना भयो । मुलकमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको महत्व बढ्दै जानु एवं यसको संस्थागत स्वरुपमा क्रमिक परिवर्तन आउनुको फलस्वरुप संरक्षित क्षेत्रको व्यवस्थापनमा अझ सुदृढ र प्रभावकारी गराउने अभिप्रायले २०३७ सालमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगत एक छुट्टै विभागको रुपमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भयो ।

    नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भू–दृश्यहरुको संरक्षण, संवर्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तरगत हाल सम्म १० वटा राष्ट्रिय निकुन्ज, ३ वटा वन्यजन्तु आरक्ष, १ वटा शिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र तथा १२ वटा मध्यवर्ती क्षेत्र स्थापना भई संचालन भई रहेका छन् । ६ वटा संरक्षण क्षेत्रहरु मध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले २ वटा नेपाल सरकारले संरक्षण र व्यवस्थापन गर्दै आएको छ भने १ वटा स्थानीय बासिन्दाले नै व्यवस्थापन गर्दै आएका छन् ।

यस विभाग अन्तरगत उपरोक्त संरक्षित क्षेत्रहरुले २०७२ सालसम्म नेपालको कुल क्षेत्रफलको २३.३१ प्रतिशत भू–भाग ओगटेको छ । यसरी हिमाली तथा उच्च पहाडी जलाधारदेखि तराईका बाढीग्रस्त मैदानी भागसम्म देशका मुख्य मुख्य वातावरणीय प्रणालीलाई समेटने गरी संरक्षित क्षेत्रको स्थापना गरी प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा विशिष्ट स्थान हासिल गर्न सहयोग पुर्याएको छ ।

  स्थानीय जनताको काठ, दाउरा तथा चरिचरनको आवश्यकता पूरा गर्न सक्ने वरपरका जंगल वढ्दो जनसंख्याको चापले क्रमशः आवादीमा परिणत हुन गएबाट निकुञ्ज तथा आरक्ष माथि बढ्दो चाप पर्न गएको छ । वन्यजन्तु संरक्षणमा भएका उल्लेखनीय उपलब्धिका बावजुद  संरक्षित क्षेत्र सिमाना वरपर रहेका स्थानीय बासिन्दाहरुको वन पैदावार माथि अत्याधिक चाप एवं निकुन्ज तथा आरक्षबाट निस्केका वन्यजन्तुहरुबाट हुने क्षतिले गर्दा स्थानीय जनता र निकुन्ज तथा आरक्षबीच बेला बेलामा वैमनस्यता पनि उत्पन्न हुने गरेको छ ।

    संरक्षणका प्रयासहरु मानव जातिकै हितका लागि हुनु पर्छ, निकुन्ज, आरक्ष तथा संरक्षण क्षेत्र स्थापनाबाट स्थानीय बासिन्दाहरुलाई बढी भन्दा बढी लाभान्वित गराउनु पर्छ र उनीहरुको सहयोगबाट संरक्षण कार्य अझ प्रभावकारी हुने कुरा महसुस गरि २०४९ सालमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाइ चौथो संशोधन गरी मध्यवर्ती क्षेत्रको प्रावधान थप गरिएको छ । मध्यवर्ती क्षेत्रमा स्थानीय जनतालाई आवश्यक पर्ने वन पैदावारको उत्पादन तथा विकास गर्न उपभोक्ता समूहको सहभागितामा कार्य योजना तयार गरी उपयोग र संरक्षण गर्दै जाने लक्ष्य राखिएको छ । यसले क्रमिक रुपमा निकुञ्ज/आरक्ष क्षेत्रमा पर्ने जनचापलाई घटाउदै लानेछ भन्ने आशा गरिएको छ ।